रूपन्देही । भोटेकोसी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना संकलन तथा परीक्षणलाई तीव्रता दिएको छ ।
शव पहिचानका क्रममा त्रुटि नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि डीएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढाएको छ ।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट संकलन भई प्राप्त भएका ‘डीएनए’ नमुनाको परीक्षण गरिरहेको छ । नमुना संकलनदेखि सुरक्षित भण्डारण र परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड तथा उपलब्ध प्रविधिको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज, उद्धार तथा शव पहिचानलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको बताए ।
प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतकका नमुना तथा आफन्तबाट संकलित नमुना प्राप्त हुनेक्रम जारी छ ।
प्रयोगशालामा हालसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट प्राप्त ८०८ वटा रगतका नमुना, मृतकका दाँत तथा हड्डीबाट संकलित ३४८ वटा नमुना र ८४ वटा मृतकका औँला छापसम्बन्धी नमुना गरी जम्मा एक हजार २४० वटा नमुना ‘डीएनए’ तथा सम्बन्धित फोरेन्सिक परीक्षणका लागि प्राप्त भएको प्रहरीले जनाएको छ ।
हालसम्म २६ जिल्लाबाट डीएनए प्रोफाइलिङका लागि रगतका नमुना प्राप्त भएका छन् ।
पछिल्लो तथ्यांकअनुसार शव पहिचानका लागि मृतकका एक हजार २८६ तथा आफन्तका एक हजार ४१२ गरी कुल दुई हजार ६७८ डीएनए नमुना संकलन गरिएको छ ।





