कास्की । सेती नदीमा आएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–२, सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोसी बाढीपीडितका निम्ति सात लाख ९३ हजार ७७५ रुपैयाँ सहयोग गरेका छन् ।
यही भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत संकलन अभियानबाट उक्त रकम जुटाइएको हो । संकलित रकम बुधबार ९भदौ २४० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
सार्दिखोलावासीले १४ वर्षअघि सेती नदीमा आएको विनाशकारी बाढीको पीडा आफैँ भोगेका थिए । ०६९ साल वैशाख २३ गते शनिबारको दिन थियो । सार्दिखोलाको खारपानी बजारमा चहलपहल त्यो दिन अझ बढी थियो । सार्वजनिक बिदाको दिन भएकाले वनभोज जाने समेत प्रशस्त थिए ।
अन्नपूर्ण चौथो हिमालबाट खसेको हिमपहिरोका कारण सेती नदीमा आएको अप्रत्याशित बाढीले सार्दिखोलाको खारपानी बजार क्षणभरमै बगरमा परिणत भएको थियो । उक्त बाढीमा स्थानीयवासी तथा पर्यटक गरी ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।
बाढीले खारपानी बजारका घर तथा अरू भौतिक संरचनासहित झोलुंगे पुल र प्रसिद्ध तातोपानी कुण्ड समेत बगाएको थियो । बाढीले क्षति पुर्याएको खारपानी बजार अझै पुनर्स्थापित हुन सकेको छैन ।
आफूले विगतमा भोगेको विपद्को पीडा सम्झिँदै सार्दिखोलावासीले भोटेकोसी बाढीपीडितका निम्ति आफ्नो क्षमताअनुसार सहयोग गरेका हुन् । राहत संकलन अभियानमा टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह, विभिन्न संघसंस्था तथा स्थानीय नागरिक सहभागी भएका वडाध्यक्ष गणेश आचार्यले बताए ।
सबै नागरिकसम्म पुगेर सहयोग संकलन गर्न टोल विकास संस्थालाई परिचालन गरिएको थियो । “हामीले बाढीको पीडा आफ्नै आँखाले देखेका र भोगेका छौँ । त्यसैले भोटेकोसीसहित विभिन्न जिल्लामा विपद्मा परेका नागरिकको पीडा र दुःख यहाँका नागरिकले बुझेका छन् । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ राहत संकलन अभियान सञ्चालन गर्यौँ । त्यसमा सबै घरपरिवार सहभागी हुनुभयो,” वडाध्यक्ष आचार्यले भने ।
विगतमा आफ्नै समुदायले बाढीको पीडा भोगेकाले अहिले विपद्मा परेका नागरिकको सहयोगमा जुट्नु मानवीय दायित्व भएको उनले बताए । संकलित सहयोगमा पारदर्शिता कायम गर्न वडा कार्यालयले सरोकारवालाको उपस्थितिमा रकम सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकम सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्य र कोषाध्यक्ष विपुल शर्मालाई हस्तान्तरण गरिएको थियो । सहकारी संस्थाले उक्त रकम कोषमा जम्मा गरिसकेको जनाएको छ ।
राहत अभियानमा सहयोग गर्ने व्यक्ति, टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह तथा विभिन्न संघसंस्थाको नाम र रकमको विवरण वडा कार्यालयले अभिलेखमा राख्ने जनाएको छ ।
उक्त बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत आचार्यले सार्दिखोला र भोटेकोसीबीच भौगोलिक दूरी टाढा भए पनि विपद्को पीडा समान रहेको बताए ।
“यो सहयोग अहिलेको विपद्का लागि मात्र होइन, समुदायले विपद्का बेला कसरी एकार्काको साथमा उभिनुपर्छ भन्ने सन्देश समेत हो । भोलिका दिनमा देशमा जहाँसुकै विपद् पर्दा पनि समुदाय मिलेर सहयोग गर्नुपर्छ भन्ने प्रेरणा यसले नयाँ पुस्तालाई दिनेछ,” आचार्यले भने ।





