काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २८औँ वार्षिक साधारणसभामा उनले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइरहेको जानकारी दिए ।
अर्थमन्त्रीले पहिलो प्याकेजअन्तर्गत भोटेकोसी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक काम भइरहेको बताए । बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनर्स्थापनाका लागि अध्ययन भइसकेको उनले जानकारी दिए ।
दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
निजी क्षेत्रको प्रवर्धन तथा पुनरुत्थानका लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले त्यसलाई तेस्रो प्याकेजका रूपमा अघि बढाइने बताए ।
चौथो प्याकेजअन्तर्गत नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिष्ट’बाट हटाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनले जानकारी दिए ।
पाँचौँ प्याकेजअन्तर्गत भोटेकोसी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालनमा केन्द्रित भएर काम भइरहेको अर्थमन्त्री वाग्लेले बताए ।
“अन्तर्राष्ट्रिय फण्ड भित्र्याउने र त्यसलाई व्यवस्थित गर्ने दिशामा पनि हामी अग्रसर भएका छौँ,” उनले भने । रासस





