काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार बुधबार बिहानसम्म कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । नयाँ ट्र्याक खोल्ने काम सकिएसँगै भोलिदेखि यो राजमार्गमा पूर्णरूपमा सवारीसाधन आउजाउ गर्नेछन्।
भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि अर्थात् १४ भदौमा त्रिशूलीमा आएको बाढीले कृष्णभीरमा सडक कटान गरेपछि त्यसयता यो राजमार्ग अवरुद्ध छ ।
२८ भदौमा केही हेभी सवारीसाधन पास गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो । नयाँ ट्र्याकको परीक्षण गरिए पनि काम पूर्णरूपमा नसकिएको भन्दै गाडी चल्न दिइएको थिएन ।





