४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

‘ग्रे जोन’ को रिपोर्ट फैलाएको आरोपमा भरत दाहाल पक्राउ



काठमाडौं । अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ ले नेपालमा भएको जेन–जी आन्दोलनबारे सार्वजनिक गरेको रिपोर्टलाई सामाजिक सञ्जालमा फैलाएको आरोपमा राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गरिएको छ ।

उनलाई पक्राउ गर्न एक सातादेखि प्रधानमन्त्रीको सचिवालयले दबाब दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । राजनीतिक विमर्शसम्बन्धी कार्यक्रमका निम्ति असोज २ गते मोरङ पुगेका विश्लेषक दाहाल आइतबार मोरङको सुन्दरहरैचा–८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ परेका हुन् ।

उनलाई मोरङ प्रहरीले अहिले २स्३० को बुद्ध एयरको बिराटनगर–काठमाडौं उडानबाट काठमाडौं पठाउने तयारी गरेको छ । शक्तिकेन्द्रको निरन्तर दबाबपछि प्रहरीको साइबर ब्यूरोले काठमाण्डू जिल्ला अदालतमा पक्राउ अनुमति माग गरेको थियो । ब्यूरो स्रोतका अनुसार अदालतबाट पक्राउ अनुमति शुक्रबार नै आएको थियो ।

कार्यक्रम सिध्याएर उनी आजै विराटनगरबाट काठमाडौं फर्किने तयारीमा थिए । तर, दबाबमा परेको प्रहरीले आइतबार बिहान चिया पिउने ठाउँमै पुगेर उनलाई पक्राउ गरेको हो ।

दाहालले सेप्टेम्बर १२ ९भदौ २७ गते० ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षक दिएर ‘ग्रे जोन’ को रिपोर्ट शेयर गरेका थिए । उक्त रिपोर्टमा नेपालका केही नयाँ राजनीतिक नेतृत्व, अभियन्ता तथा प्रमुख व्यक्तित्वहरूसँग अमेरिकी सहयोगमा सञ्चालित विभिन्न संघसंस्था र परियोजनाहरूको सम्बन्ध रहेको दाबी गरिएको छ ।

सो सञ्चार संस्थाद्वारा सार्वजनिक भएका केही कागजात वा विवरणमा नेपालका केही चर्चित तथा नयाँ राजनीतिक व्यक्ति र आन्दोलनका अगुवाको नाम विभिन्न नागरिक नेतृत्व वा क्षमता विकाससम्बन्धी कार्यक्रमहरूसँग जोडिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  २ : ०३ बजे