मुक्तिनाथ । मुस्ताङमा अविरल वर्षासँगै आएको बाढीपहिरो तथा कालीगण्डकी र सहायक नदीको कटानका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ। उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत जिल्लाभित्रको सडकखण्ड बिहीबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण म्याग्दीको सीमासँग जोडिएको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र तथा लो–घेकर र लोमान्थाङ गाउँपालिका हुँदै समुद्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकासम्मको सडक अवरुद्ध भएको थियो। अहिले उक्त सडकमा सवारीसाधन आवतजावत गर्न थालेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो।
प्रजिअ शर्माले भन्नुभयो, ‘‘मुस्ताङखण्ड खुलेको छ। भन्सारबाट जाँचपास भएर रोकिएका सवारीसाधनसमेत जोमसोम आइपुगेका छन्। जोखिमयुक्त स्थानमा मर्मतकार्य जारी छ।’’
उहाँका अनुसार वारागुङ मुक्तिक्षेत्र–३, चैलेको उकालोमा सवारीसाधन आवतजावतमा समस्या भएपछि सडक मर्मत गरिएको छ। चीनसँगको सीमामा रहेको कोरला नाका हुँदै नेचुङस्थित भन्सार कार्यालयबाट छुटेका विद्युतीय सवारीसाधनसमेत सडक मर्मतपछि सञ्चालनमा आएका छन्। सवारीसाधन सञ्चालनमा आएपछि मुस्ताङखण्डमा चहलपहल बढेको छ।
सडक अवरुद्ध भएका कारण मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भइसकेका कन्टेनरसमेत बाटोमै रोकिएका थिए। उपल्लो मुस्ताङखण्डमा कन्टेनर आवतजावत सहज हुने गरी सडक मर्मतको काम भइरहेको र यो सातादेखि आवागमन थप सहज हुने आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभयो।
मुस्ताङमा बाढीका कारण समस्या भए पनि सडक कटानलगायतको जोखिम कम भएकाले मर्मत गर्न सहज भएको आयोजनाले जनाएको छ। नेपाल–चीन सीमासँग जोडिएका अन्य नाका बन्द रहेका बेला तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ ९कोरला० नाकामा धेरै कन्टेनर आवतजावत गर्ने भएकाले जोखिमयुक्त स्थानलाई उच्च प्राथमिकता दिएर सडक मर्मत गरिएको आयोजनाले जनाएको छ।
आयोजनाले छोसेर भन्सार कार्यालयबाट करिब १४ किलोमिटर माथि समुद्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकासम्म पुगेर सडक मर्मत गरेको छ।
घाँसादेखि छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीसम्मको सडक सञ्चालनमा आउन भने केही समय लाग्ने बताइएको छ। यसैबीच स्थानीय तहहरूले आफ्नो पालिकाभित्रका अवरुद्ध सडकसमेत असोज महिनाभित्र मर्मत गर्ने जनाएका छन्।





