१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

काठमाडौं क्षेत्र नं. १० (ख) को सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नं. १० को प्रदेशसभा क्षेत्र नं. २ (ख) को सभापतिमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित भएका छन्।

मंगलबार सम्पन्न अधिवेशनमा बानियाँले १०८ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी प्रचण्डमान गोपालीले ५४, सिद्धिलाल महर्जनले ४९ र बाबुशरण महर्जनले ३१ मत प्राप्त गरेका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्षसमेत रहेका बानियाँ यसअघि चन्द्रागिरि नगरपालिकाको नगरसभापति पदका आकांक्षी थिए। नगरसभापतिमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए। त्यसपछि उनी प्रदेशसभा क्षेत्रीय सभापति पदमा प्रतिस्पर्धामा उत्रिएका हुन्।

सभापतिमा निर्वाचित भएपछि बानियाँले आफूलाई विजयी गराउन सहयोग गर्ने एकाइ सभापति, क्षेत्रीय प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। उनले निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै सबैलाई समेटेर संगठनलाई एकताबद्ध र सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

बानियाँले आफ्नो विजयलाई व्यक्तिगत नभई सबैको साझा विजयका रूपमा लिएको उल्लेख गर्दै पार्टीभित्र सबैको भावना र विचारलाई सम्मान गरी नेपाली कांग्रेसलाई थप मजबुत बनाउँदै अघि बढ्ने बताएका छन्।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १२ : ३१ बजे