१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

दसैँ, तिहार र छठलाई लक्षित गर्दै साल्ट ट्रेडिङका सुपथ मूल्य पसल सञ्चालनमा



काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) ले देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला बजारमा हुने मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरिएको हो।

असोज १ गतेदेखि सुरु भएका सुपथ मूल्य पसल छठ पर्वको अन्त्यसम्म सञ्चालन हुनेछन्। दैनिक बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म, शनिबारसमेत खुला रहने गरी पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङले जनाएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी मोहन थापाका अनुसार उपभोक्तालाई सरकारी सहुलियत दरमा अत्यावश्यक वस्तु सहज रूपमा उपलब्ध गराउनु कार्यक्रमको मुख्य उद्देश्य हो। चाडपर्वको समयमा बजारमा हुन सक्ने अस्वाभाविक मूल्यवृद्धि तथा आपूर्ति समस्याबाट उपभोक्तालाई राहत दिन वार्षिक रूपमा सुपथ मूल्य पसल सञ्चालन गरिँदै आएको उनले बताए।

चाडपर्वको समयमा बजारमा चिनीको मूल्य प्रतिकिलो १७० रुपैयाँसम्म पुगेको अवस्थामा साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा प्रतिकिलो १०० रुपैयाँमा चिनी उपलब्ध गराइएको छ। त्यस्तै, प्रतिकिलो २६ रुपैयाँ पर्ने नुनलाई २४ रुपैयाँमा बिक्री गरिँदै आएको छ। एक परिवारले नुन र चिनी अधिकतम ६–६ किलोसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

साल्ट ट्रेडिङले दैनिक उपभोग्य विभिन्न वस्तुमा प्रतिकिलो वा प्रतिइकाइ २ रुपैयाँदेखि १०० रुपैयाँसम्म छुट उपलब्ध गराएको छ। चिउरा, दाल, मैदा र खाने तेललगायतका वस्तुमा ७ रुपैयाँसम्म छुट दिइएको छ भने चामल तथा अन्य गेडागुडीमा १०० रुपैयाँसम्म मूल्य छुटको व्यवस्था गरिएको छ।

त्यस्तै, खाना पकाउने एलपी ग्यास पनि सरकारले तोकेको मूल्यमा बिक्री भइरहेको छ। ग्यास वितरणलाई व्यवस्थित बनाउन र लामो लाइनको समस्या कम गर्न कुपन प्रणाली लागू गरिएको छ। जसअनुसार उपभोक्ताले तोकिएको मिति र समयमा ग्यास प्राप्त गर्न सक्नेछन्।

काठमाडौं उपत्यकामा कालिमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफल, कोपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, कागेश्वरी, इमाडोल, महाराजगञ्ज र जोरपाटीलगायतका १३ वितरण केन्द्रबाट सुपथ मूल्य पसल सञ्चालनमा छन्। यसका अतिरिक्त उपत्यकामा तीनवटा घुम्ती पसलसमेत सञ्चालन गरिएको छ।

उपत्यकाबाहिर विभिन्न जिल्लाका ४१ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा रहेका छन्। विराटनगर, पोखरा, वीरगञ्ज, नेपालगञ्ज, धनगढी र सुर्खेतलगायतका प्रमुख सहरमा समेत सुपथ मूल्य पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङले जनाएको छ।

आगामी दिनमा दुर्गम क्षेत्रसम्म सुपथ मूल्य पसलको पहुँच विस्तार गर्ने तथा पूर्व र पश्चिमका स्थानीय उत्पादनलाई एकअर्को क्षेत्रमा पुर्‍याएर बजार वितरणलाई सन्तुलित बनाउने योजना पनि साल्ट ट्रेडिङले अघि सारेको छ।

सुपथ मूल्य पसलबाट सहुलियत दरमा दैनिक उपभोग्य वस्तु खरिद गरी चाडपर्वका बेला हुने अतिरिक्त आर्थिक भार कम गर्न उपभोक्तालाई सहज हुने अपेक्षा गरिएको छ। सुपथ मूल्य पसल, उपलब्ध वस्तु तथा सहुलियतसम्बन्धी थप जानकारी साल्ट ट्रेडिङ कर्पोरेसनको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिनेछ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १ : ३९ बजे