२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

चन्द्रागिरिका मेयर घनश्याम गिरीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौं निर्वाचन क्षेत्र नं. १० अन्तर्गत पर्ने चन्द्रागिरिका मेयर गिरी पार्टीको केन्द्रीय नेतृत्वमा जाने तयारीस्वरूप उम्मेदवारी सार्वजनिक गरेका हुन्।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गिरीको राजनीतिक यात्रा २०३६ सालदेखि औपचारिक रूपमा अघि बढेको हो। शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहेका उनले शिक्षक संघको सदस्यदेखि सचिव, क्षेत्रीय सभापति, जिल्ला सदस्य हुँदै केन्द्रीय प्रतिनिधिसम्मको जिम्मेवारी सम्हालेका छन्। उनले २०४७ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए।

२०७८ सालमा सम्पन्न कांग्रेसको नगर अधिवेशनबाट गिरी चन्द्रागिरि नगर कांग्रेस सभापतिमा सर्वसम्मत चयन भएका थिए। त्यसबेला उनी नगरप्रमुखसमेत रहेका थिए र चन्द्रागिरि कांग्रेसको सम्पूर्ण नेतृत्व सहमतिमै चयन भएको थियो।

स्थानीय तहको राजनीतिमा पनि गिरीले चन्द्रागिरिको नेतृत्व दुई कार्यकाल नगरप्रमुखका रूपमा गरिसकेका छन्। लामो राजनीतिक अनुभव, स्थानीय तहको नेतृत्व र संगठनात्मक भूमिकालाई आधार बनाउँदै उनी अब राष्ट्रिय राजनीतिमा थप जिम्मेवारी लिन अघि बढेका हुन्। स्थानीय तहमा रहँदा विकास र निर्माणका कामलाई प्राथमिकता दिने तथा युवा पुस्तालाई अवसर र प्रोत्साहन दिने नेताका रूपमा गिरी नगरबासीबीच परिचित छन् । नगरको पूर्वाधार, शिक्षा, महिला शशक्तिकरण, खानेपानीलगायतका बिकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गर्ने गरेका छन् ।
चन्द्रागिरिका स्थानीय राजनीतिक वृत्तमा पनि गिरीलाई ‘विकासप्रेमी नेता’का रूपमा चिनिने गरिएको छ। अब केन्द्रीय सदस्यको उम्मेदवारीसँगै उनले स्थानीय तहको अनुभव, संगठनात्मक क्षमता र लामो राजनीतिक यात्रालाई पार्टीको केन्द्रीय तहमा लैजाने एजेण्डा बनाएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ११ : ०७ बजे