काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि शुरू हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् ।
योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि जुर्मुराएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दशैँ भित्र्याउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको हो ।
खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान शुरू गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले हिजो अपरान्हदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर आज बिहान सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।
उनले बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने बताए । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्य सचिव कटुवालले बताए ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि नै थालिने बताए ।
उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको बताए । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएको हो ।
आजको बसाई र खानाको खर्च पार्टीकै
आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताए ।
कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस समूह
हिमाल हल — गण्डकी प्रदेश
तराई–मधेस हल — मधेश प्रदेश
पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि
निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।





