नेपाली काँग्रेसको १५ औ महाधिवेशन अन्तर्गतको सबै मतगणना भरखरै सकिएको छ ।
मधेश प्रदेश र वागमती प्रदेशको आज विहान सकिएको हो भने लुम्बिनी, गण्डकी र उपत्यका प्रदेश, श्रमिक, सहिद परिवार तथा द्धन्द्ध पिडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको मत गणना गएराती नै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।
त्यसैगरी सहमहामन्त्री तथा खुल्ला र महिला केन्द्रीय सदस्यहरु चयन हुने खस आर्य र थारु तर्फको मत गणना पनि राती अवेर सकिएको उनले बताए ।
सबैको मतपरिणाम रुजु गर्ने कार्य भइरहेकाले केही वेरमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाई छ । अन्य पदहरुको भने यसअघि नै गणना सम्पन्न भइसकेको थियो ।
गत असोज २३ गते मतदान गरी त्यहीदिन बेलुका सभापतिको गणना गरेर सुरु भएको मतगणना कार्य झण्डै एक हप्तामा सकिएको हो । सभापतिको परिणाम २४ गते विहानै आएको थियो ।
सभापतिको मत गणना मतदान भएको स्थान राष्ट्रिय सभागृहमै गरिएको थियो भने अरु सबैको पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो ।
अघिल्लो बर्ष ४ हजार ७०० मतदाताको मत गणना गर्न १२ दिन लागेकोमा यस पटक ७ हजा ३९२ मतदाताको मत गणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए । उनका अनुसार गणना सुरु भएकैदिनदेखि दिन र रातमा झण्डै २५ समुह बनाएर गणना गराइएको थियो । मतदान तथा मत गणनाका क्रममा कुनै विवाद सृजना नभएको र सौहार्दपुर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनको भनाई छ ।
यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उनको भनाई छ । कुल २२२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।
अघिल्लो महाधिवेहअधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो भएको निर्वाचन समितिका सदस्य सचिव कटुवालको दावी छ ।
उनका अनुसार प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम भने दशै लगत्तै गर्ने तयारी भएको छ । त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरुले जानकारी दिएका छन् ।
३० आश्विन २०८३, शुक्रबार
250
Shares





