१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु



काठमाडौँ । यात्रुको चाप बढेसँगै चाडपर्वको अवधिमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या उच्च रूपमा बढेको छ । यस अवधिमा १५ दिनभित्र देशभर एक हजार ३४१ सवारी दुर्घटना हुँदा १४० जनाको मृत्यु भएको छ भने तीन हजार ५० जनाभन्दा बढी घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार सोमबार गुल्मीको कालीगण्डकी गाउँपालिका–२, दबौखानीमा स्कोर्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मङ्गलबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । यी घटनाले सवारीको चाप बढेसँगै सडक दुर्घटनाको जोखिम गम्भीर बनेको देखाएको छ । यात्रुको आवागमन बढ्ने समयमा चालकको लापर्बाही, तीव्र गति, मादक पदार्थ सेवन र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति दुर्घटनाका प्रमुख जोखिमका रूपमा देखिएको बताइएको छ । प्रहरीका अनुसार गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका दुर्घटनामा ८७ पुरुष, ४१ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको छ । घाइतेमध्ये ४४८ जनाको अवस्था गम्भीर र दुई हजार ५५१ जनाको अवस्था सामान्य छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार दुर्घटनाको सङ्ख्याका आधारमा कोशी प्रदेश सबैभन्दा अगाडि छ । यस अवधिमा कोशीमा ३९७, काठमाडौँ उपत्यकामा १७१, कर्णालीमा १७१, लुम्बिनीमा १६१, सुदूरपश्चिममा १५०, बागमतीमा ११२, गण्डकीमा ९७ र मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन् ।

मोटरसाइकल दुर्घटना बढी

प्रहरीको तथ्याङ्क अनुसार दुर्घटनामा परेका दुई हजार ४८१ सवारीसाधनमध्ये एक हजार ५५२ मोटरसाइकल छन् । यस्तै ३३७ जिप तथा कार, २०७ ट्याम्पो, ७१ ट्रक तथा ट्याङ्कर र ५४ बस दुर्घटनामा परेका छन् ।

चाडपर्वमा लामो दुरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सवारी छुट्ने स्थानदेखि नै निगरानी र जाँचलाई तीव्र बनाएको प्रवक्ता काफ्लेले बताउनुभयो । चालकको अनुमतिपत्र, मादक तथा लागुपदार्थ सेवन, सवारीको यान्त्रिक अवस्था र सिट क्षमता अनुसार यात्रु राखेरनराखेको जाँच भइरहेको उहाँले जानकारी दिनुभयो । लामो दुरीका सवारीसाधनमा दुई जना चालक भएरनभएको यकिन गर्न ट्राफिक कम्युनिकेसन एप्लिकेसन ९टिसिए० को समेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

चालक कारबाहीमा

दसैँको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ सवारीसाधन कारबाहीमा परेका छन् । तीमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु राख्ने एक हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ सवारीसाधन रहेको प्रहरीले जनाएको छ । यस्तै यान्त्रिक जाँचसम्बन्धी कसुरमा ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागुपदार्थ सेवन गरी सवारी चलाउने ५३ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रवक्ता काफ्लेले प्रहरीको उद्देश्य कारबाही गर्नुभन्दा चालक र यात्रुको सुरक्षा सुनिश्चित गर्नु रहेको बताउनुभयो । दुर्घटनाको जोखिम भएका स्थान पहिचान गरी नियमित तथा आकस्मिक जाँच सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत देशभर ४०८ यात्रु सहायता कक्ष र अन्तर्राष्ट्रिय सीमानाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई सूचना तथा सहयोग उपलब्ध गराएको प्रहरीले जनाएको छ । दसैँपछि तिहार, नेपाल संवत् र छठपर्वमा पनि सवारी आवागमन बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि विशेष सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, बिहिबार  १० : ३० बजे