२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा



तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो।

प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खननकार्य सम्पन्न भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण पूरा भएको छ।

भूमिगत विद्युतगृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनामा उत्खनन तथा कङ्क्रिटिङको काम करिब सम्पन्न भएको छ।

मुख्य सुरुङको कङ्क्रिट लाइनिङकार्य अन्तिम चरणमा पुगेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए।

ीबहmष् दबलप
भूमिगत विद्युतगृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडानको काम अघि बढेको छ।

विद्युतगृहमा जेनेरेटर, टर्बाइन, सिसीटिभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान तथा परीक्षण भइरहेको उनले बताए।

त्यसैगरी, वातावरणीय बहावका लागि निर्माण गरिने विद्युतगृह र बाँध सञ्चालन भवनको निर्माण जारी रहेको छ।

भूमिगत विद्युतगृह तथा सुरुङका अधिकांश सिभिल संरचना निर्माण सम्पन्न हुँदै गर्दा उपकरण जडान र परीक्षणलाई पनि सँगसँगै अघि बढाइएको आयोजनाले जनाएको छ।

प्याकेज–२ अन्तर्गतका यी संरचना तथा उपकरण निर्माणको काम सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शुक्रबार  १ : १४ बजे