२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

विपद् पुनर्निर्माणमा ४.७ अर्ब डलर आवश्यक



काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोसी र त्रिशूली क्षेत्रमा गएको विपद्पछि पुनर्निर्माणका लागि ४.७ देखि पाँच अर्ब डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेका छन् । शुक्रबार सिंहदरबारमा आयोजित संसदीय विशेष समितिको बैठकमा उनले विपद्‌बाट भएको भौतिक र आर्थिक क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब १० प्रतिशत रहेको जानकारी दिए । सो रकम व्यवस्थापनका लागि सरकारले चरणवद्ध कार्ययोजना अघि बढाएको बताए ।

अर्थमन्त्री वाग्लेले भोटेकोसी र त्रिशूली क्षेत्रमा आएको बाढी–पहिरोले २.७ देखि २.८ अर्ब डलरबराबरको क्षति पुर्‍याएको उल्लेख गरे । ‘बिल्डिङ ब्याक बेटर’ ९थप समृद्ध पूर्वाधार निर्माण०को अवधारणाअनुसार पुनर्निर्माणमा ठूलो लगानी आवश्यक रहेको बताए ।

“पाँच दिनभित्रै गरिएको र्‍यापिड ड्यामेज निड्स एसेसमेन्ट (आरडीएनए) र विश्व बैंकको ग्रेड मेथोडोलोजी दुवैले करिब ४.७ देखि पाँच अर्ब डलरसम्मको पुनर्निर्माण आवश्यकता देखाएको छ,” अर्थमन्त्री वाग्लेले जानकारी दिए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भएको १८ अर्ब रुपैयाँ संकलनलाई सरकारप्रति जनताको उच्च विश्वासको कडीका रूपमा अर्थमन्त्रीले अर्थ्याए । उनले उक्त रकम जथाभावी नबाँडी कार्यविधि र आवश्यकताका आधारमा खर्च गरिने स्पष्ट पारे ।

बजेट व्यवस्थापनका सम्बन्धमा उनले चालु आर्थिक वर्षको २१ खर्ब २४ अर्बको बजेट सीमा नाघ्ने गरी पूरक बजेट ल्याउनुभन्दा मौजुदा विनियोजनबाटै बजेटको पुनर्प्राथमिकीकरण गरी काम गर्ने तयारी रहेको बताए ।

पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने र आवश्यकता परे आगामी वर्षको बजेटमा पुनर्निर्माणलाई प्राथमिकताका साथ समावेश गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शुक्रबार  १ : ३३ बजे