३ मंसिर २०८३, बुधबार | Thu Nov 19 2026

बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी मुक्त घोषणा



बागलुङ । बागलुङको जैमिनी नगरपालिकालाई देशभरमै अव्यवस्थित तथा सुकुम्बासी समस्या मुक्त पालिका घोषणा गरिएको छ ।

नगरपालिकाले गत वर्ष नै १८ सुकुम्बासीलाई जग्गा खरिद गरि घर बनाएर लालपूर्जा दिएको थियो । भूमि समस्या समाधान समितिले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी मुक्त जैमिनी नगरपालिका घोषणा गरेको हो ।

समितिले सार्वजानिक गरेको सुचना अनुसार जैमिनी नगरपालिका देशकै पाँच पालिकामा पर्न सफल भएको छ । समितिले जैमिनी नगरपालिकासहित देशभरका पाँच पालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी मुक्त घोषणा गरेको हो ।

जैमिनी नगरपालिकाले १८ परिवारलाई घडेरी खरिदसहित घर बनाउन तीन लाख रुपियाँका दरले उपलब्ध गराएको थियो । १८ सुकुम्बासीले लालपूर्जासहितको घर पाएकाले सुकुम्बासी समस्या नरहेको पठाएपछि देशभरमै पाँच पालिकामा जैमिनी नगर परेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । शर्माले पालिका घोषणाका लागि सुकुम्बासीलाई स्थानीय स्तरमै घडेरी र घर बनाउन ५४ लाख रुपियाँ खर्च गरेको जानकारी दिनुभयो ।

समस्या मुक्त हुनेमा देशभरका पालिकाहरूमध्ये बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेको भूमि समस्या समाधान समितिले जनाएको छ ।

देशभर भूमिसम्बन्धी समस्या समाधानको कामलाई थप तीव्रता दिएसँगै समस्या मुक्त पालिका घोषणा गर्ने कार्यक्रमलाई अघि सारेको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बुधबार  ११ : ४८ बजे