काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले आफैँ बहिर्गमनको बाटो रोज्दा उपयुक्त हुने बताएको छ ।
आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले उपसभामुख रानाले आफैँले बुझेर मार्ग प्रशस्त गर्नु उचित हुने ठहर गरेको हो । बैठकपछि प्रमुख सचेतक श्याम घिमिरले सत्तारूढ दलले उपसभामुखलाई हटाउने विषयमा साझा धारणा बनाएर अघि बढ्ने बताएका छन् । साझा धारणा बनेपछि संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए ।
उपसभामुखले अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मिति अघि सार्न भन्दै लेखेको पत्रले संसद्को शिर झुकाएको निष्कर्ष कांग्रेसको छ ।
“उहाँमाथि गम्भीर प्रश्न उठेको हो । संसद्लाई नै अपामानित गरेको छ । शिर झुकाएको छ,” उनले भने ।
सभामुखले आफैँ बहिर्गमनको बाटो रोज्दा उपयुक्त हुने निचोड कांग्रेसको छ ।
“हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले आफैँले बुझेर मार्ग प्रशस्त गर्नु अर्थात् बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ भन्ने हाम्रो भनाइ हो,” घिमिरेले भने ।
यता मंगलबार रास्वपाले भने उपसभामुख हटाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएको छ ।