धनुषा । हालैको बाढीबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार वाग्मती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति १९ करोड ५० लाखभन्दा बढीको हो ।
सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु नौ करोड ५० लाखको क्षति भएको छ ।
यसैगरी, सर्लाहीमा वाग्मती, लखनेहीसहितका खोलाको बाढीले नौ करोड २५ लाख, बारामा आठ करोड ५० लाख, सिरहामा सात करोड ९० लाख, महोत्तरीमा सात करोड ५० लाख र पर्सामा पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।
बढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले आठ करोड निकासा गरेको छ ।