८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सङ्घीय योजना कार्यान्वयनमा समस्या



म्याग्दी । यहाँको एक सरकारी कार्यालय स्थापना भएको तीन वर्ष हुँदा पनि आयोजना कार्यान्वयन हुन सकेका छैनन् । म्याग्दी, बागलुङ र मुस्ताङ जिल्ला कार्यक्षेत्र रहने गरी म्याग्दीको बेनीमा तीन वर्षअघि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय स्थापना गरिएको थियो । 

ठुला बजेटका योजना स्थानीय तहले १० प्रतिशत रकम सुनिश्चिततामा ढिलाइ र बहुवर्षीय ठेक्का लगाउन अर्थ मन्त्रालयको स्वीकृतिमा आलटालका कारण योजना कार्यान्वयन गर्न समस्या भएको हो । कार्यालयमार्फत हिमाली जिल्लामा एक हजार र पहाडीमा पाँच हजारभन्दा बढी उपभोक्ता भएका खानेपानीका साथै ढल व्यवस्थापनसम्बन्धी आयोजना सञ्चालन गर्ने भनिएको थियो । 

ठुला आयोजनाका लागि पर्याप्त मात्रामा बजेटको अभाव, ठेक्का लगाउन अर्थ मन्त्रालयको स्वीकृति नपाउनुलगायतका समस्याका कारण तीन वर्षसम्म प्रगति शून्य रहेको कार्यालयका इन्जिनियर नवीन सुवेदीले बताउनुभयो । गत वर्ष म्याग्दीको बृहत् भगवती पिप्ले खानेपानी योजना, बृहत् घोप्टेखोला खानेपानी योजनाको दुई/दुई करोड रुपियाँ र बागलुङ बजार ढल प्रशोधन आयोजनाको १९ करोड रुपियाँ गरी २३ करोड रुपियाँ योजना कार्यान्वयनमा नजाँदा फिर्ता भएको थियो । चालु आर्थिक वर्षका लागि उक्त योजनाहरू सञ्चालन गर्न खानेपानीमा तीन/तीन करोड र ढल प्रशोधनमा पाँच करोड रुपियाँ विनियोजन भएको कार्यालयले जनाएको छ । यो वर्षको बजेट पनि फिर्ता जाने सम्भावना देखिएको कार्यालयले जनाएको छ । 

तीन जिल्लामा ठुला खानेपानीका आयोजना निर्माण गर्न भन्दै खोलिएको कार्यालयले बजेटलाई फिर्ता पठाउने काम मात्र भएको कार्यालयका इन्जिनियर सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालय स्थापना भएदेखि योजना कार्यान्वयन गर्न सकिएको छैन । बजेट फिर्ता पठाउँदै आएका छौँ । आयोजनाका लागि बजेट विनियोजन हुन्छ तर काम नहुँदा कार्यालयले प्रत्येक वर्ष पत्र लेखेर बजेट फिर्ता पठाउने गरेको छ ।” “ठुला आयोजना छन्, ठेक्का लगाउन अर्थ मन्त्रालयको स्वीकृति चाहिन्छ,” इन्जिनियर सुवेदीले भन्नुभयो, “सबै प्रक्रिया पूरा गरेर ठेक्का लगाउन सबै तयारी पूरा भएको छ, अर्थको स्वीकृति पर्खेर बसेका छौँ ।”

कार्यालयले म्याग्दीका दुई वटा ठुला खानेपानीका आयोजना निर्माणको तयारी थालेको थियो । एक दशकदेखि मुहान सुनिश्चित भएर डिपिआर तयार भएको ४८ करोड लागत अनुमान गरिएको बृहत् घोप्टेखोला खानेपानी र ४७ करोड रुपियाँ लागत अनुमान गरिएको बृहत् भगवती पिप्ले खोपानी आयोजना सबै प्रक्रिया पूरा भए पनि गत वर्ष बहुवर्षीय ठेक्का लगाउन नसकिएको कार्यालयका इन्जिनियर सुवेदीको भनाइ छ । 

एक दशकदेखि दुई आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको थियो । रघुगङ्गा गाउँपालिकाका भगवती, पिप्ले खानेपानी आयोजना र बेनी नगरका केही वडा, रघुगङ्गा गाउँपालिका–६, पाखापानी र वडा नं. ५ झीँलाई लक्षित खानेपानी सुविधा पुर्‍याउन बृहत् घोप्टेखोला खानेपानी आयोजना प्रस्ताव भएको छ । ती आयोजना सञ्चालनका लागि पालिकाबाट कुल लागतको १० प्रतिशत बजेट उपलब्ध गराउने प्रतिबद्धता आइसकेको कार्यालयका इन्जिनियर सुवेदीले बताउनुभयो । सुवेदीले कार्यालय र कर्मचारी राख्ने आयोजना अगाडि नबढाउने हो भने कार्यालय खोलेको औचित्य नभएको बताउनुभयो । 

रघुगङ्गा गाउँपालिका–७, चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने कालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्याङ्कीसम्म पानी ल्याउन मुख्य पाइपलाइन रहने छ । करिब २० वर्षपछि पनि १९ हजार जनसङ्ख्यालाई खानेपानी सुविधा पुर्‍याउने लक्ष्य अनुसार डिपिआर तयार भएको छ ।

बृहत् घोप्टेखोला आयोजनामा रघुगङ्गा गाउँपालिका–६, पाखापानीको कालीवराह खोलाको मुहानबाट पाइपलाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट वितरण पाइपमार्फत पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ ।   

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : १५ बजे