२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

जनकपुरमा महाअष्टमीको दिन करिब तीन करोडको लड्डु बिक्री



महेन्द्रनगर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब रु तीन करोडको लड्डु बिक्री भएको छ ।

होटल तथा पर्यटन व्यवसायी सङ्घका केन्द्रीय सदस्य र ॐ बेकरी जनकपुरधामका सञ्चालक दशरथ साहले जनकपुरधाममा करिब ६५ हजार किलो लड्डु बिक्री भई रु तीन करोड बराबरको कारोबार भएको प्रारम्भिक अनुमान रहेको बताए।

हंसराज मिठाइ पसलका सञ्चालक सन्तोष गुप्ताले विभिन्न शक्तिपीठमा प्रसादका रूपमा चढाउन बजारमा फरकफरक प्रकारका लड्डुको बिक्री भएको बताए ।

यहाँ रिफाइन घ्यूवाला, शुद्ध घ्यूवाला, मोतीचुर, महीनदाना, गोंद, मेवालगायत लड्डु पाइने गरेको उनले जानकारी दिए । यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि बिक्री हुने गरेको गुप्ताले बताए ।

जनकपुरधाम मुख्य बजार क्षेत्रमा दुई सयभन्दा बढी मिठाइ पसल रहेका छन् । बजारमा बुधबार साँझदेखि नै मिठाइ पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने बिहीबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ११ : ५४ बजे