इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे । उनले एक लाखदेखि एक लाख ५० हजार लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै आएका थिए । उनले गहुँखतीबाट वार्षिकरूपमा १० क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन हुँदै आएको थियो । उनलाई गहुँबाट वार्षिकरूपमा ७२ हजार आम्दानी हुँदै आएको थियो ।
पछिल्लो समय साह गहुँखेती छोडेर मकैखेती गर्न सुरु गरेका छन् । उनले अहिले एक बिघा १० कट्ठा खेतमा मकैखेती गरेको बताउँछन् । एक लाखदेखि एक लाख ५० हजारको लगानीमा गरेको मकैखेतीबाट चार लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ एक बिघा १० कट्ठामा मकैखेती गरेको उनले जानकारी दिए ।
मकैखेतीबाट वार्षिकरूपमा एक सयदेखि १२० क्विन्टलसम्म उत्पादन गरेर वार्षिकरूपमा रू चार लाख आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहले बताए ।
गहुँखेतीमा कम उत्पादन हुने र कम आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहको भनाइ छ । साह सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन्छन् ।
पछिल्लो समय सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन् ।
जिल्लामा पछिल्लो समय वार्षिकरूपमा गहुँखेती गर्ने कृषकको संख्या क्रमिकरूपमा घट्दै गएको छ भने मकैखेती गर्ने कृषकको संख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।
आर्थिक वर्ष २०८०र०८१ मा सुनसरीमा १२ हजार २४८ हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा आव २०८१र०८२ मा १२ हजार १२५ हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गरेको कार्यालय प्रमुख सिंहले जानकारी दिए ।
त्यसैगरी आव २०८०र०८१ मा सुनसरीमा १० हजार छ सय ४१ हेक्टर क्षेत्रफलमा मकैखती गरेका र यस आवमा लगाउने क्रम जारी रहेका कारणले यसमा वृद्धि हुने उनले जानकारी दिए । आव २०८०र०८१ मा ३।३७ मेट्रिक टन गहुँको उत्पादकत्व रहेकोमा सोही आर्थिक वर्षमा ७।८ मेट्रिक टन प्रतिहेक्टर मकैको उत्पादकत्व रहेको सिंहले जानकारी दिए । रासस