२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

चुरियामाई सुरुङमार्ग खुला गरिँदै



मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका निम्ति खुला गर्ने तयारी थालिएको छ । वाग्मती प्रदेश सरकारको चार करोड ५७ लाख रुपैयाँको लागतमा पुनर्निर्माण सकिएपछि सर्वसाधारणको अवलोकनका निम्ति खुला गर्न लागिएको हो ।

प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले पुनर्निर्माण गरेको उक्त सुरुङमार्ग आज औपचारिक रूपमा हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्न लागिएको छ । हस्तान्तरणलगत्तै सुरुङमार्ग सर्वसाधारणका निम्ति खुला गरिने उपमहानगरका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।

सुरुङमार्ग व्यवस्थापन तथा सञ्चालन गर्ने सहमति भइसकेकाले सर्वसाधारणको अवलोकनका निम्ति खुला गर्न लागिएको प्रमुख लामाले बताइन् ।

सुरुङमार्ग अवलोकनका निम्ति आउने नेपालीलाई प्रतिव्यक्ति ५०, विदेशीलाई प्रतिव्यक्ति १२०, विद्यार्थीलाई प्रतिव्यक्ति २० र पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक र आपांगता भएका व्यक्तिलाई निःशुल्क गरिने प्रमुख लामाको भनाइ छ ।

पुनर्निर्मित उक्त सुरुङमार्गलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ अवलोकन गर्न आउनेका निम्ति खुला गर्न लागिएको प्रमुख लामाले बताइन् ।

मधेस प्रदेशको बारा र वाग्मतीको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग वि।सं। १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । उक्त सुरुङमार्गबाट ०२० सालसम्म सवारीसाधनहरू सञ्चालन गरिएको थियो ।

उक्त सुरुङमार्गको ०७९ साल वैशाख १९ गते जीर्णोद्वार सम्पन्न गर्ने गरी काम थालिएको थियो । सुरुङमार्ग पुनर्निर्माण भए पनि त्यसको सञ्चालन कसले गर्ने भन्ने अन्योलका कारण लामो समयदेखि बन्द थियो ।

उपमहानगरले सुरुङमार्ग सञ्चालन गर्ने सहमति भएपछि हस्तान्तरण गर्न लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्पकरराज पोखरेलले जानकारी दिए ।

कुल १९८ मिटर लम्बाइको उक्त सुरुङमार्ग पुनर्निर्माणपश्चात् २२५ मिटरको पुगेको जनाइएको छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १२ : ३९ बजे