१४ पुस २०८१, आइतबार | Mon Dec 30 2024

काठमाडौंसहित देशभर मौसम बदली, ठाउँ–ठाउँमा वर्षा



काठमाडौं । काठमाडौंसहित आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।

कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । उनका अनुसार हिजो साँझ पश्चिम नेपालबाट बदली सुरू भई आज अधिकांश क्षेत्रमा फैलिएको हो ।

सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा समेत भइरहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात पनि भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

साथै बिहानको समयमा तराई तथा उपत्यका थोरै स्थानमा हुस्सु÷कुहिरोको सम्भावना रहेको छ । यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । रासस

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ११ : ५८ बजे