काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गरे। केन्द्र प्रतिष्ठानका रुपमा रूपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारी समेत दिए ।
यही वर्ष भदौ १३ गते मन्त्री बस्नेतको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले केन्द्रलाई प्रतिष्ठानमा रूपान्तरण गर्न तीन सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले अवधारणापत्र बुझाइसकेको र मन्त्रालयबाट प्रक्रिया सुरु भएको उनको भनाइ छ ।
केन्द्रका कार्यकारी निर्देशक डा रवि मल्लले दिनप्रतिदिन बढ्दो बिरामीको चापअनुसार केन्द्रको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले दुई सय शय्याको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको काम अघि बढाउन मन्त्रालयसँग आग्रह गरे ।
निर्देशक डा मल्ल केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्नतर्फ मन्त्रालयको ध्यानाकर्षण गराए । विक्रम संवत् २०५१ मा नौवटा शय्याबाट उपचार सेवा सुरु गरेको केन्द्र अहिले दुई सय ९६ शैय्यामा सञ्चालन भइरहेको छ । केन्द्रले मुटुरोगसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।