२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

आयुर्वेद स्वास्थ्य सेवा प्रती स्थानीयको आकर्षण बढ्दो



बाजुरा । बाजुरामा पछिल्लो समय आयुर्वेद स्वास्थ्य सेवा प्रती स्थानीय सेवा ग्राहीको आकर्षण बढ्दै गएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले पछिल्लो समय प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि स्थानीय नागरिकको आयुर्वेद प्रती विश्वास बढ्न थालेको आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ।

सरकारले हालै छात्रवृत्ति कोटामा डाक्टर सर्वण कुँवरलाई बाजुरामा खटाएसँगै २ जना आयुर्वेद चिकित्सक बाट नियमित सेवा प्रभावकारी र थप विस्तार भएपछि आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने बिरामी हरुको चापमा वृद्धि भएको हो ।

विगत लामो समयदेखि एक जना मात्र चिकित्सकबाट सेवा प्रवाह हुँदै आएकोमा सरकारले आयुर्वेद चिकित्सक कुवरलाई खटाएपछि प्रभावकारी स्वास्थ्य सेवा पाएको स्थानीयको भनाइ छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट नियमित ल्याब सेवा, पञ्चकर्म, दैनिक ओपिडी, ज्येष्ठ नागरिक सेवा तथा प्रयोगशाला लगायतका सेवा प्रवाह हुँदै आएको कार्यालयले जनाएको छ ।

दैनिक ५०देखि ६० जना सम्म बिरामी उपचार तथा चेकजाँचका लागि आउने गरेका आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा महिलाहरूमा सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारी समस्या, छाती सम्बन्धी रोग, खोकी, दम, छाला रोग, उच्च रक्तचाप, पिनास तथा बाल रोग लगायत समस्याहरूको प्रभावकारी उपचार हुने गरेको डाक्टर रन्जित केशरीले बताए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  २ : ०१ बजे