१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मुगु अस्पतालमा एक्स–रे मेसिन नहुँदा बिरामी समस्यामा



मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्स–रे मेसिन बिग्रिएर मर्मतको काम नहुँदा बिरामीलाई समस्या भएको छ ।

जिल्लाकै एकमात्र अस्पतालमा रहेको एक्स–रे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्स–रे गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउने गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

उक्त एक्स–रे मेसिनको इमेज क्यासेट विद्युतीय भोल्टेज अनियमित भई बिग्रेको र करिब दुई लाख ५० हजार रकम खर्च मर्मतमा लाग्ने तथा अस्पतालले रकम व्यवस्थापन गर्न सक्ने भए पनि विद्युतीय भोल्टेजका कारण एक्स–रे मेसिन बिग्रने डरले मर्मत कार्य हुन नसक्दा सामान्य चोटपटकलगायत अन्य बिरामीलाई एक्स–रे गर्न जुम्ला पुग्नुपर्ने बाध्यता छ ।

अस्पतालमा एक महिनादेखि बिग्रिएको एक्स–रे मेसिन मर्मत कार्यका लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा। कमल ढुंगानाको भनाइ छ ।

उनका अनुसार मुगुको विद्युतको भोल्टेज स्थिर नहुँदा अस्पतालका धेरै मेसिन उपकरण बिग्रिएर थन्क्याइएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ५ : ३१ बजे