हेटौँडा । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जले चालु आर्थिक वर्षको ६ महिनामा ७६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका निम्ति नयाँ इजाजतपत्र प्रदान गरेको छ । कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, बारा र रौतहट जिल्लाका व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई गएको साउनदेखि पुस महिनासम्ममा सो इजाजतपत्र प्रदान गरिएको हो ।
पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले ६ महिनाका अवधिमा ३४ व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार ५१६ व्यवसायीको नापतौल यन्त्रको जाँच तथा नापतौलमा अनियमितता एवं ठगी गर्ने ७८६ व्यवसायीलाई कारबाही समेत गरेको छ ।
कार्यालय प्रमुख मनीषकुमार दासले सो अवधिमा १५५ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, ४८६ पम्पको ‘नोजल’ जाँच र ६६ वेव्रिजको जाँच गरिएको बताए ।
साथै, सो अवधिमा २८८ ट्यांकरको हेटाँैडामा जाँच समेत गरिएको थियो । सो अवधिमा कार्यालयका कर्मचारीबाट विभिन्न बजारक्षेत्रको १० स्थानमा डोर सञ्चालन, एकल अनुगमन २० पटक र नौपटक संयुक्त अनुगमन समेत गरिएको थियो ।
सो कार्यबाट ७३ लाख सात हजार ८५९ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी सञ्जीव ठाकुरले जानकारी दिए ।