१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

दैलेखमा भेटिएको मिथेन ग्यासलाई निगमको स्वामित्व सुनिश्चित गर्न कर्मचारीको ध्यानाकर्षण, निर्देशक भट्टलाई बुझाए मागपत्र



काठमाडौँ । दैलेखमा मिथेन ग्यासको व्यावसायिक उत्पादनमा आयल निगमको स्वामित्व लिने पहल गर्नको लागि कर्मचारी युनियनले ब्यवस्थापनलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
मंगलबार नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई सात बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको हो । मुख्य रुपमा दैलेखमा मिथेन ग्यासको व्यावसायिक उत्पादनमा आयल निगमको स्वामित्व सुनिश्चित गर्न पहल गर्न भनिएको छ । ध्यानाकषर्णपत्रमा ग्यास उत्खनन र ब्यवसायिकरणको लागि आयल निगम उपयुक्त हुने हुँदा उत्खनन र बजारीकरण सुनिश्चित गर्न पहल गर्नुपर्ने, निगमको स्वामित्वमा स्वदेशी लगानी र प्राविधिक एवम् आवश्यकता अनुसार रणनीतिक साझेदारीमा ग्यास उत्खनन र बजारीकरण गर्नुपर्ने, बजार रणनीति तयार गर्नका लागि अध्ययन गर्न तत्काल समिति गठन गर्नुपर्ने, चरणवद्ध कार्ययोजना तयार गर्ने सम्बन्धमा आवश्यक निर्णय गरि कार्य अगाडी बढ्नुपर्ने, प्राकृतिक मिथेन ग्यासलाई स्वच्छ उर्जाको पहलको प्रमुख आधार स्तम्भको रुपमा अघि बढाउन आवश्यक पहल गर्ने र निगमको स्वामित्कमा सहायक कम्पनी स्थापना गरि मिथेन ग्यासको उत्पादन, प्रशोधन, ढुवानी र बिक्रि वितरण गर्ने संरचना तयार गर्ने सम्बन्धमा आवश्यक निर्णय गरि कार्य अगाडी बढाउनुपर्ने उल्लेख गरिएको छ । दैलेखमा मिथेन ग्यासको व्यावसायिक उत्पादनमा र बजारीकरणको सम्पुर्ण जिम्मेवारी निगमले लिनुपर्ने माग गरिएको छ ।
गत असारमा दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य बाहिर आएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ११ : २२ बजे