१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।

ग्लोबल आइएमईले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रमा गरेको लगानी तथा उच्चस्तरीय कार्यसम्पादनका निम्ति यो अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ ।

युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका निम्ति प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।

ग्लोबल आइएमई तेस्रोपटक बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमईले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो ।

ग्लोबल आइएमई मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको जनाइएको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ११ : ३० बजे