चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिका लाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । गत आर्थिक वर्ष २०७९(०८० मा आयोगको मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।
आगामी आव २०८१(८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले विभिन्न १७ वटा सूचकमा उल्लेखित अङ्क भारको आधारमा मूल्याङ्कन गर्ने गर्दछ । पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ ।
समय सीमा अर्थात् भित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे(नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएको लगायतका आधारमा अनलाइन पोर्टल बाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ ।
भरतपुर महानगरपालिकाले यस पटक ५६ दशमलव २९ प्रतिशत अङ्क प्राप्त गरेको छ । जबकि काठमाडौँ महानगरपालिकाले ३९ दशमलव ०२, वीरगन्ज महानगरपालिकाले ३३ दशमलव ४९ , विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५ , ललितपुर महानगरपालिकाले २५ दशमलव १८ र पोखरा महानगरपालिकाले २० दशमलव ७४ प्रतिशत अङ्क पाएका छन् । जिल्लामा सात पालिकामा पनि महानगर पहिलो ः चितवन जिल्लाका सात पालिकाहरूमध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा छ ।
महानगरले ५६ दशमलव २९ प्रतिशत अङ्क पाउँदा इच्छाकामना गाउँपालिकाले ४२ दशमलव ०६ प्रतिशत, खैरहनी नगरपालिकाले ४० दशमलव ५१ प्रतिशत, रत्न नगर नगरपालिकाले ४० दशमलव ०१ प्रतिशत, कालिका नगरपालिकाले ३५ दशमलव ६८ प्रतिशत, राप्ती नगरपालिकाले ३१ दशमलव ७५ प्रतिशत र माडी नगरपालिकाले २६ दशमलव २० प्रतिशत अङ्क प्राप्त गरेका छन् ।