मकवानपुर । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । उद्योगनजिकै तयारी साबुन र कच्चापदार्थ राख्न निर्माण गरिएको गोदाममा शनिबार ९माघ १०० राति आगलागी भएको हो ।
आगलागी हुँदा त्यहाँ रहेका सम्पूर्ण साबुन, कच्चापदार्थ, प्याकिङ गर्ने समान जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी दिए । “आगलागीमा कतिको क्षति भयो भन्ने तत्काल यकिन गर्न सकिँदैन,” उनले भने, “तथ्यांक हेरेपछि मात्र क्षतिको यकिन गर्न सकिन्छ, तर गोदाममा रहेको कुनै पनि सामान जोगिएको छैन, सबै खरानी भइसकेको छ ।”
करिब १०–१२ करोड रुपैयाँबराबरको क्षति भएको उनले प्रारम्भिक अनुमान गरे ।
मध्यरातमा अचानक आगो लागेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराइएको थियो । तर, तुरुन्तै आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको व्यवस्थापक बुढाथोकीको भनाइ छ ।
हेटौँडा उपमहानगरपालिकाबाट ल्याइएका दुई वारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली र स्थानीयको प्रयासमा आइतबार ९माघ ११० बिहान आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए । रासस





