काठमाडौं । पछिल्ला केही दिनयता बजारमा एलपी ग्यासको अभाव देखिएको भन्ने चर्चा चलिरहेका बेला नेपाल आयल निगमले ग्यास आपूर्ति नियमित र सहज रहेको स्पष्ट पारेको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार मुलुकलाई प्रतिदिन करिब ९० बुलेट एलपी ग्यास आवश्यक पर्छ, जुन करिब १ लाख १४ हजार सिलिण्डर बराबर हुन्छ। उनका अनुसार पछिल्ला तीन दिनमा आयात भएको एलपी ग्यासको विवरण यसप्रकार रहेको छ।
शनिवार ११८ बुलेट अर्थात १ लाख ४९ हजार ५०० सिलिण्डर, सोमबार ११५ बुलेट अर्थात १ लाख ४५ हजार ७०० सिलिण्डर र मंगलबार १३२ बुलेट अर्थात १ लाख ६७ हजार ३०० सिलिण्डर एलपी ग्यास आयात भएको निगमले जनाएको छ।
कार्यकारी निर्देशक भट्टका अनुसार तीमध्ये केही बुलेटहरू बाटोमै रहेका छन् र छिट्टै नेपाल प्रवेश गर्नेछन्।
निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संकलन (स्टक) नगर्न आग्रह गर्दै चुनाव अवधिभर समेत यही परिमाणमा ग्यास आपूर्ति निरन्तर रहने जानकारी दिएको छ।
निगमका अनुसार बजारमा देखिएको अभावको अवस्था वास्तविक आपूर्ति समस्या नभई उपभोक्तामा फैलिएको भ्रम र अत्यधिक मागका कारण सिर्जना भएको हो। उपभोक्ताले संयम अपनाएमा ग्यास आपूर्ति पूर्ण रूपमा सहज रहने निगमको भनाइ छ।





