ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी संकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम संकलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार, फागुनमा भक्तजनले पाथीभरामा ३१ लाख १० हजार रुपैयाँ भेटी चढाएका छन् ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार, तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा संकलन गर्ने गरेका छन् । संकलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ ।
फेदीमा करिब एक सातासम्म संकलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङलिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।
सार्वजनिक गरिएको तथ्यांकअनुसार, फागुनमा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका छन् । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।





