काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जलगायतका नेताको जिम्मेवारी हेरफेर गर्ने भएको छ । मङ्गलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा जिम्मेवारी हेरफेरको प्रस्ताव पेस भएको छ । प्रस्तावमा छलफल भए पनि निर्णय भने भएको छैन ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार कोशी प्रदेश इन्चार्जमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्ताव गरिएको छ ।
त्यस्तै उपत्यका विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य, सम्पर्क समन्वयमा देवप्रसाद गुरुङ, प्रवासमा राम कार्की र प्रवास मध्यपूर्वमा पम्फा भुसाललाई प्रस्ताव गरिएको सचिव गणेश साहले जानकारी दिए ।
बैठकमा अधिकांश नेताले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले छोड्न नहुने मत राखेर नेतृत्वलाई दबाब दिएका छन् । राजनीतिक वृत्तमा राष्ट्रिय सभा अध्यक्ष कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई दिने चर्चा भएपछि माओवादी नेताहरूले छाड्न नहुने मत राखेका हुन् । बैठकका छलफलबारे जानकारी दिँदै पार्टी प्रवक्ता सापकोटाले भने, “प्रस्तुत एजेन्डामा बृहत् छलफल ग¥यौँ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनबारे सबैले मत राखे। अधिकांशले राष्ट्रिय सभाको अध्यक्ष छोड्नुहुन्न भन्ने मत राखेका छन् ।”
वर्तमान राजनीतिक परिस्थिति, कार्यविभाजन, अभियान सञ्चालन, आगामी भावी योजनालगायतका विषयमा पनि छलफल भएको उनले बताए । उनले भने, “प्रदेश इन्चार्जको नाम प्रस्ताव भएको छ । बुधबारको बैठकले टुङ्ग्याउँछ । केही कमिटी र सहइन्चार्जसहितका विषय पनि टुङ्गिन बाँकी छ ।”
नेपाली कांग्रेस महासमिति बैठकमा प्रस्तुत गठबन्धन नगर्ने सिफारिससहितका प्रतिवेदनबारे पनि माओवादी नेताहरूले चासो व्यक्त गरेका छन् । गठबन्धन र सत्ता साझेदारीबारे स्थायी समितिका सदस्यले थप प्रस्ट हुन आग्रह गरेका छन् ।
पार्टी प्रवक्ता सापकोटाले भने, “नेपाली कांग्रेसको महासमिति बैठकमा पारित भएका विषय, राष्ट्रिय राजनीतिबारे त्यहाँ भएका छलफल र हिन्दु राज्यका लागि चलेका अभियानबारे पनि धारणा राख्ने काम भएको छ ।” तराई–मधेश अभियानबारे नेताहरूले धारणा राख्नुभएको छ । माओवादीको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा खट्ने नेता कार्यकर्तालाई सम्मान र नखट्नेलाई कारबाही गर्ने विषयमा पनि निर्णय हुन बाँकी छ । यी सबै विषयको निर्णय बुधबार बिहान बस्ने बैठकले गर्ने भएको छ ।