१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

बर्ड फ्लुको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता



नेपालगन्ज । बाँकेको नेपालगन्जलगायत स्थानमा बर्ड फ्लुको जोखिम देखिएपछि उच्च सर्तकता अपनाइएको छ ।

जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा। हरेराम यादवले जानकारी दिए ।

उनले यस क्षेत्रमा बर्ड फ्लु नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अन्डा ल्याउन रोक लगाइएको बताए ।

“खुला सीमा क्षेत्रका कुखुराका चल्ला र अण्डा ल्याउँछन् तर प्रहरी देखेपछि छाडेर भाग्छन्,” उनले भने ।

सरकारले भारतबाट कुखुराका चल्ला वा सेतो अन्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ ।

डा। यादवले आन्तरिक ढुवानीमा कडाइ र निगरानी गरिएको जानकारी दिँदै कुखुराको आयात निर्यातमा कडाइ गरिएको जानकारी दिए ।

पशु क्वारेन्टाइन कार्यालयका अनुसार, जिल्लामा करिब २० देखि २५ थान ब्रोइलर भारतीय कुखुरा दैनिक रूपमा नष्ट गरिएको छ ।

“हामीलाई विभागबाट स्पष्ट निर्देशन आएको छ र हामी सचेत छौँ,” उनले भने, “तराईसँग खुला सीमा जोडिएका जिल्लामा बर्ड फ्लुको जोखिम देखिएको छ ।”

नियमित रूपमा कार्यालयबाट हुने जनचेतानमूलक कार्यक्रम भइरहेको डा। यादवको भनाइ छ ।

भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगन्जका वरिष्ठ पशु विकास अधिकृत डा गणेशबहादुर पुनले चल्ला आयातमा उच्च सर्तकता अपनाएको बताए । जिल्लामा सुइया, बगौँडा, खडैँचा, जमुनाहलगायत खुला सीमानाका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ३ : ०५ बजे