२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

चार किमि सडक कालोपत्र गर्न पाँच वर्ष



बागलुङ । लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेस जाने सडक कालोपत्र गरिएको छ । दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । उक्त चार किमि सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडक भएको बताइएको छ ।

कालोपत्र भएपछि रेस जाने यात्रुलाई सहज हुन थालेको छ । संघीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको सडक समयमै काम नहुँदा गाउँपालिकाको लागतमा कालोपत्र भएको हो । गाउँपालिकाको सबैभन्दा बढी लागतमा कालोपत्र भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए ।

०७७ जेठमा दुई वर्षमा कालोपत्र सक्ने गरी निर्माण कम्पनीसँग ६ करोड ७१ लाखमा चार किमि सडक कालोपत्र र ढलान गर्ने सम्झौता गरिएको सडक समयमै काम नहुँदा ६ पटक म्याद थपिएको थियो ।

अध्यक्ष थापाले पालिकाले अपनत्व लिँदा कालोपत्र भएको बताए । संघीय सरकारले साझेदारी गरेर ठेक्कामा गए पनि समयमै काम नहुँदा गाउँपालिकाले चार करोड लगानी गरेर सडक सम्पन्न गर्न थालेको बताए ।

बर्खामा हिलो र हिउँदमा धुलाम्मे सडकले रेसका जनतालाई आजित बनाएको थियो । कालोपत्र भएपछि १५ मिनेटमै गाउँपालिकाको केन्द्रबाट रेस पुग्न सकिने भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ११ : ३८ बजे