दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार ६३४ पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ ।
यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको संख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका ४९ महिला र १९५ पुरुष गरी दुई ४४ जना, त्यसबाहिरका ४९ महिला र ६३ पुरुष गरी ११२ पर्यटकले यहाँ भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
यस अवधिमा सबैभन्दा बढी गत चैतमा ६२१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । कात्तिकमा ५८०, मंसिरमा २९३, पुसमा ३७६, माघमा ३६९ र फागुनमा ३८६ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटनबाट १४ लाख ६७ हजार ४८६ राजस्व संकलन गरिएको सूचना अधिकारी वाग्लेले बताए ।
िजैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण यो निकुञ्ज पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कोभिड महामारीपछि यहाँ आउने विदेशी पर्यटकको संख्यामा केही कमी आए पनि पछिल्ला वर्षहरूमा त्यो संख्या बढ्दै गएको छ । “नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान रहेको यस निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि विभिन्न वनस्पति पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे अध्ययन–अनुसन्धानसँगै अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ पुग्ने गरेका छन्,” वाग्लले भने ।
निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०र८१ मा तीन हजार ७६२ जनाले यहाँ भ्रमण गरेका छन्, जसमा १३२ विदेशी र ११२ सार्क मुलुकका पर्यटक रहेका छन् । आर्थिक वर्ष २०८१र८२ मा तीन हजार ३२२ जनाले निकुञ्ज भ्रमण गरेकामा त्यसमा १९९ जना सार्क मुलुकका र १५२ त्यसबाहेकका मुलुकका विदेशी पर्यटक रहेका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको बताए । “शुक्लाफाँटाको प्रचारप्रसार गरेर यहाँ उल्लेख्य पर्यटक भित्र्याउन सकिन्छ । यहाँको जैविक विविधताबारे व्यापक प्रचारप्रसार हुनसकेको छैन । अब प्रचारप्रसारका लागि सबैले सहयोग गर्नुपर्छ,” उनले भने ।
३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिंगा छन् ।





