२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

समुदायप्रति उत्तरदायी कृषि विकास बैंक : दुई सेवामूलक संस्थालाई सहयोग



काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुई वटा सेवामूलक संस्थालाई आर्थिक तथा सामग्री सहयोग प्रदान गरेको छ।
बैंकले २०८३ असार २० गते शनिबार तनहुँ र नवलपुर जिल्लामा रहेका दुई संस्थालाई आवश्यक पूर्वाधार तथा स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सहयोग हस्तान्तरण गरेको हो।
यसअन्तर्गत तनहुँ जिल्ला, देवघाटस्थित श्री कृष्ण प्रणामी मन्दिर कृपा धाममा शुद्ध पिउने पानीको सहज व्यवस्था गर्न डिप बोरिङ्ग जडान कार्यका लागि आर्थिक सहयोग उपलब्ध गराइएको छ। यस सहयोगबाट मन्दिरमा बसोबास गर्ने तथा दर्शनका लागि आउने भक्तजनलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ।

त्यसैगरी नवलपुर जिल्ला, देवचुली नगरपालिका–१६, रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई उपचार सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले फिजियोथेरापी उपकरण उपलब्ध गराइएको बैंकले जनाएको छ। उक्त उपकरणले अस्पतालमा उपचारका लागि आउने बिरामीलाई थप प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रम बैंकका सञ्चालक सञ्जीव पौडेलको रोहबरमा सम्पन्न भएको थियो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्बन्धित संस्थाका प्रतिनिधिहरूलाई सहयोग सामग्री तथा सहयोग रकम हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यालय, चितवनका निर्देशक रामप्रसाद गजुरेल, मार्केटिङ तथा सेल्स विभागका वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, रजहर शाखाका प्रबन्धक विशाल पौडेल, प्रदेश कार्यालय, चितवनका वरिष्ठ शाखा प्रमुख सुजन ढकाल, सन्देश दुङ्गेललगायत बैंकका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै दुवै संस्थाका अध्यक्ष, पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खानेपानी, सामाजिक कल्याण तथा समुदायको दिगो विकाससँग सम्बन्धित कार्यक्रमहरूमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १० : १४ बजे