काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक तथा जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीले बिपीको विचार, लोकतान्त्रिक मूल्य र योगदानलाई स्मरण गर्दै ‘ग्रीन रन’ सहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बिपी कोइराला सम्पूर्ण नेपालीका साझा प्रेरणाका स्रोत भएकाले उहाँप्रति श्रद्धा व्यक्त गर्न आयोजना गरिने सबै कार्यक्रमलाई पार्टीले सकारात्मक रूपमा लिने बताए।
उनले पार्टीभित्र देखिएका मतभेद संवाद र छलफलमार्फत समाधान गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।
“बिपी कोइराला हामी सबैका हुनुहुन्छ। उहाँ कांग्रेसका मात्र नभई लोकतन्त्रमा विश्वास गर्ने सबैका प्रेरणाका स्रोत हुनुहुन्छ। त्यसैले उहाँको स्मृतिमा जहाँबाट पनि हुने कार्यक्रमप्रति कांग्रेसले नकारात्मक टिप्पणी गर्दैन। पार्टीभित्रका मतभेद पनि क्रमशः समाधान गर्दै अघि बढ्छौँ,” उपसभापति शर्माले भने।
कांग्रेसले बिपी स्मृति दिवसलाई लोकतान्त्रिक आन्दोलनका आदर्श, राष्ट्रिय एकता र वातावरण संरक्षणसँग जोड्दै ‘ग्रीन रन’ लगायतका कार्यक्रममार्फत मनाउने जनाएको छ।
पार्टी नेतृत्वका अनुसार बिपी कोइरालाले स्थापित गरेका लोकतान्त्रिक मूल्य, राष्ट्रियता, समाजवाद र जनअधिकारका पक्षमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्मृति दिवसका कार्यक्रम आयोजना गरिएको हो।
कांग्रेसले स्मृति दिवसका कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।





