२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

निर्मला पन्तको न्यायबारे अब प्रश्न नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह, उस्टै दिए चेतावनी



काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बारेमा प्रश्न नगर्न सांसदहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको बैठकमा सोधिएको प्रश्नमा मन्त्री गुरुङले निर्मला पन्तले न्याय पाउने प्रश्न नसोध्न आग्रह गरेका हुन् ।

पुरक प्रश्न गर्दासमेत मन्त्री सुधन गुरुङले भने – म यसको जवाफ दिन चाहन्छ ।

उनले उल्टै प्रश्न गर्दै भने – तपाईंहरू सत्तामा बसेर के गर्नुभयो ?

गत असार ४ गते प्रतिनिधि सभाको बैठकमा भने गृहमन्त्री गुरुङले पन्तको हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको बताएका थिए ।

गृहमन्त्री गुरुङले यस प्रकरणमा मन्त्रालय अत्यन्त संवेदनशील रहेको र आफूले व्यक्तिगत रूपमा पनि गम्भीरताका साथ अनुगमन गरिरहेको स्पष्ट पारेका थिए ।

अनुसन्धानका कतिपय प्रक्रियाहरू गोप्य राखेरै अगाडि बढाउनुपर्ने प्राविधिक बाध्यता रहेको उल्लेख गर्दै उनले नतिजा नआएसम्म कतिपय कुराहरू सार्वजनिक नगर्नु नै उपयुक्त हुने बताएका थिए ।

विगतमा यस विषयलाई लिएर भएको राजनीतिकरणप्रति लक्षित गर्दै उनले एउटी बालिकाको निर्मम हत्या जस्तो संवेदनशील मुद्दामा राजनीति गरिनु दुःखद् भएको टिप्पणी गरेका थिए ।

बैठकमा बोल्दै मन्त्री गुरुङले भनेका थिए, ‘निर्मला पन्तको विषयमा मन्त्रालय संवेदनशील छ। एक बालिकाको शवमाथि जुन प्रकारको राजनीति गरियो, त्यसको अन्त्य गर्न पनि सम्बन्धित व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि हामीले सुक्ष्म अनुसन्धान अगाडि बढाएका छौँ।’

गृहमन्त्री गुरुङले दोषीलाई कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै यो जटिल अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सबै पक्षको सहयोगको अपेक्षासमेत गरेका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन। यो घटना २०७५ साउनमा भएको थियो, जसले देशभर ठूलो आन्दोलन सिर्जना गरेको थियो।

विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो। घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुकभर व्यापक विरोध प्रदर्शन भएका थिए। सरकारले घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो भने राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले पनि विभिन्न छुट्टाछुट्टै छानबिन समिति बनाएका थिए। प्रहरीको सबैभन्दा बढी स्रोतसाधन यसै प्रकरणमा खर्च भए पनि हालसम्म कुनै ठोस उपलब्धि हात पार्न सकेको छैन।

अहिले पनि प्रहरीले निर्मला पन्तको घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । अनुसन्धानका क्रममा अहिलेसम्म १२४ जनाको डीएनए परीक्षण भएको छ भने ६५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ । सीआईबीबाट १० टोलीले अनुसन्धान गरिसकेको छ । अहिले पनि सीआईबी र प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  २ : ५७ बजे