२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

देवानगञ्ज–कप्तानगञ्ज घटनाको छानबिनका लागि निष्पक्ष न्यायिक आयोग गठन गर्न सरकारसँग कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको छानबिनका लागि तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
केन्द्रीय समिति बैठकपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै घटनाका पीडितलाई न्याय दिलाउन सरकारले तत्काल निष्पक्ष आयोग गठन गरी छानबिन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्।
विज्ञप्तिमा सरकारले पीडित पक्षलाई न्याय दिने प्रतिबद्धतासहित सम्झौता गरे पनि हालसम्म चार जनालाई शहीद घोषणा गर्नेबाहेक अन्य सहमति कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ। सरकारको गैरजिम्मेवार रवैयाका कारण स्थानीय समुदायमा आक्रोश बढ्दै गएको र पुनः अर्को दुर्घटना निम्तिन सक्ने खतरा रहेको कांग्रेसको भनाइ छ।
कांग्रेसले सरकारले गरेका सम्झौता अविलम्ब कार्यान्वयन गरी पीडित पक्षलाई राहत र न्याय दिन माग गरेको छ।
त्यस्तै, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याज ९अनुचित लेनदेन० पीडित संघर्ष समिति लगायत विभिन्न पेशा, व्यवसाय र नागरिक संघ–संस्थासँग सरकारले गरेका सम्झौता तथा सहमति पनि तत्काल कार्यान्वयन गर्न कांग्रेसले माग गरेको छ।
कांग्रेसले नागरिक तथा पेशागत संघ–संस्थासँग गरिएका सहमति केवल तत्कालको दबाबबाट उम्किने माध्यम नबनाउन सरकारलाई चेतावनी दिएको छ। पटक–पटक सहमति गर्ने तर त्यसको इमानदार कार्यान्वयनमा तत्परता नदेखाउने सरकारको प्रवृत्ति चिन्ताको विषय बनेको कांग्रेसको निष्कर्ष छ।
यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता चालिसेले जानकारी दिएका छन्।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १० : ५२ बजे