मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेको हो ।
मुख्यमन्त्रीको कार्यालयका अनुसार उहाँले भदौ १ गते सोमबार दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। सो प्रयोजनका लागि मुख्यमन्त्री बानियाँले शुक्रबार प्रदेशसभा सचिवालय, हेटौँडालाई आवश्यक व्यवस्था मिलाउन पत्राचार गरेका छन्।
बागमती प्रदेश सभाका सचिव रामकुमार पौडेलले मुख्यमन्त्री कार्यालयबाट विश्वासको मतसम्बन्धी पत्र प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्राप्त पत्रका आधारमा भदौ १ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरूलाई सूचना जारी गरिएको छ।
सरकारमा सहभागी एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। कांग्रेस संसदीय दलका नेता बानियाँ नेतृत्वको सरकार नेपालको संविधानको धारा १६८ को उपधारा ९२) बमोजिम गठन भएको हो।
संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
बागमती प्रदेश सभामा हाल १०४ सदस्य रहेका छन्। सरकारलाई बहुमतका लागि ५३ मत आवश्यक पर्छ। प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन हुने अवस्था छ।
प्रदेश सभामा नेपाली कांग्रेसका ३६, नेपाल कम्युनिस्ट पार्टी ९नेकप०का २६, नेकपा एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टीका तीन तथा हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन्।
कांग्रेसलाई बहुमतका लागि थप १७ मत आवश्यक पर्नेमा हाम्रो नेपाली पार्टीको समर्थन प्राप्त भइसकेकाले अब थप १५ मत आवश्यक छ।





