दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम रहेको छ । प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्।
सम्भावित कार्यसूचीअनुसार बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनेछन् । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास रहेको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
मुख्यमन्त्रीले प्रस्ताव पेश गरेपछि त्यसमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ । छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिने कार्यक्रम छ । त्यसपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।
लुम्बिनी प्रदेश सभामा कुल ८३ जना सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमत अर्थात् ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ ।मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमतभन्दा बढी प्रदेश सभा सदस्यको समर्थन जुटाउने दाबी गरिएको छ ।





