५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको उजुरी



काठमाण्डौ । संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ । सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुरक्षासँग सम्बन्धित उजुरीलाई आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै समितिका सभापति बोधनारायण श्रेष्ठले सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिनुभयो । उजुरीको विषय रक्षा वा गृह कुन मन्त्रालयसँग धेरै सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको छ ।

सभापति श्रेष्ठका अनुसार समितिमा प्राप्त उजुरी र त्यसको सुनुवाइ प्रक्रियाका क्रममा उठेका प्रश्नहरूबारे पनि बैठकमा छलफल भएको थियो । प्रस्तावित व्यक्तिको सुनुवाइका क्रममा माग गरिएका सूचनाका सम्बन्धमा समितिले स्पष्ट पारेको छ । सुनुवाइ प्रक्रिया प्रत्यक्ष प्रसारण र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिन सक्ने समितिको निष्कर्ष छ ।

बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताउनुभएको थियो । उहाँले समितिका दस्तावेजहरूको अध्ययन, कानूनी विश्लेषण र आन्तरिक प्रक्रियालाई सार्वजनिक गर्दा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  १ : ३३ बजे