८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

नाडा अटो शोमा गाडीका नयाँ प्रविधि र नयाँ ब्रान्डको प्रदर्शनी हुने



काठमाण्डौ । गाडीहरुको प्रदर्शनी ‘नाडा अटो शो–२०२६’ को १८ औं संस्करण मगंलबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा शुरु हुँदैछ ।
यसपटकको नाडा अटो शोमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिबारे जानकारीसहित नाम चलेका दुई र चारपांग्रेका नयाँ ब्रान्ड लन्च गर्ने तयारी छ ।
आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा यात्रुवाहक गाडीका २३, हल्का व्यावसायिक गाडीका १७ र दुईपांग्रे गाडीका १३ गरी ५३ वटा गाडीका ब्रान्ड सहभागी हुँदैछन् ।
प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ गाडी, विद्युतीय गाडी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ ।
त्यस्तै, करिब ७० वटा स्टलमा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण लगायतका सामग्री प्रदर्शन हुनेछन् । बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार नाडा अटो शोमा नयाँ गाडी र प्रविधिको प्रदर्शनसँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अरु सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तरक्रियाको अवसरसमेत उपलब्ध हुनेछ ।
यस वर्षको प्रदर्शनीमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ समेत रहनेछ । नेपालमै उत्पादन तथा एसेम्बल भएका गाडी, ईभी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवर्द्धन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ९ : ०६ बजे