१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

चितवन र गोरखामा गरी १६० शव फेला



चितवन। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएर बेपत्ता भएकामध्ये १३० जनाको शव चितवनमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शव अहिले भरतपुरमा संकलन गर्ने काम भइरहेको छ।

त्रिशूली र नारायणी नदीका किनारमा ती शव फेला परेका हुन्। फिस्लिङदेखि मेघौलीको गोलाघाटसम्मको क्षेत्रमा शव भेटिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

फेला परेका शवको व्यवस्थापन र पहिचानका लागि चितवनमा शव पहिचान कक्ष स्थापना गरिएको छ। भरतपुरमा रहेको औद्योगिक विकास प्रतिष्ठानको भवनमा उक्त कक्ष स्थापना गरिएको हो।

चितवनमा लगातार शव फेला पर्न थालेपछि पहिचानमा सहजता होस् भन्ने उद्देश्यले शव पहिचान कक्ष स्थापना गरिएको प्रहरी उपरीक्षक पौडेलले बताए
नदी किनारबाट शवलाई एम्बुलेन्समार्फत निःशुल्क ढुवानी गर्ने व्यवस्था मिलाइएको छ। चितवन आउने मृतकका परिवारका लागि निःशुल्क खाना र बस्ने व्यवस्था चितवन होटल संघले गरेको छ।

अहिलेसम्म अधिकांश शवको पहिचान हुन सकेको छैन। पहिचान भएका शव आफन्तलाई बुझाउने तयारी गरिएको छ। बेपत्ता आफन्तको खोजीमा रहेका परिवारजन शव पहिचानका लागि चितवन आउने क्रम पनि सुरु भएको छ।
त्यसैगरी त्रिशूली नदीमा बगेका मानिसका शव तथा मानव शरीरका अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन् । बुधबार बिहान ११ देखि बिहीबार दिउँसो १ बजेसम्म त्रिशूली नदीको किनारमा ३० वटा शव तथा मानव शरीरका अंग फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ३ : ५७ बजे