३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

भोटेकोशी बाढीपीडितका लागि कृषि विकास बैंकका कर्मचारीद्वारा १ करोड ५३ लाख रुपैयाँभन्दा बढी सहयोग



काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि कृषि विकास बैंकका कर्मचारीहरूले उल्लेखनीय सहयोग गरेका छन्।

बैंकमा कार्यरत कर्मचारीहरूको मासिक तलबबाट स्वेच्छिक रूपमा रकम कट्टा गरी जम्मा गरिएको १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ बाढीपीडितका लागि हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

मंगलबार आयोजित कार्यक्रममा कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी तथा बैंकका अध्यक्ष टंक पाण्डेले संयुक्त रूपमा उक्त रकमको चेक अर्थमन्त्री डा। स्वर्णीम वाग्ले समक्ष हस्तान्तरण गरेका हुन्।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट योगदान गरेका बैंकले जनाएको छ।

विपद्को कठिन समयमा कर्मचारीहरूको सामूहिक पहलबाट संकलित यो रकम बाढीपीडितको राहत तथा आवश्यक सहयोगमा उपयोग गरिने बताइएको छ। बैंकले बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

कृषि विकास बैंकले विपद्को यस घडीमा प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता समेत जनाएको छ। यस अघि कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेको छ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  २ : २३ बजे