६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन असोज १२ सम्मको म्याद



काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले नामावलीमा समावेश विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दाबी–विरोध दर्ता गर्नका लागि असोज १२ गतेसम्म समयसीमा निर्धारण गरेको छ ।

सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा गत भदौ १५ गतेसम्म नाम दर्ता गराएका मतदाताहरूको विवरण समावेश गरिएको छ । नामावलीमा नाम, थर वा जन्ममितिमा कुनै त्रुटि भए मतदाताले आयोगको वेबसाइटमार्फत अनलाइन नै सच्याउन निवेदन दिन सक्ने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

“अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था छ,” उनले भने, “त्यसैले असोज १ देखि १२ गतेभित्र आयोगको वेबसाइटमा आफ्नो विवरण हेरेर कुनै त्रुटि भए सच्याउनका लागि अनलाइनमार्फत नै समयमै निवेदन दिन सबै मतदाताहरूमा अनुरोध गरिएको छ ।”

आयोगले हाल दुई विधिमार्फत मतदाता नामावली संकलन तथा अद्यावधिक गरिरहेको छ । राष्ट्रिय परिचयपत्र ९एनआईडी०मा आवद्ध भइसकेका मतदाताहरूले अनलाइन प्रणालीमार्फत नै आफ्नो तस्बिर तथा बायोमेट्रिक्स विवरण पेस गर्न सक्छन् ।

परिचयपत्रमा आबद्ध नभएकाहरूले सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर विवरण उपलब्ध गराउनुपर्ने प्रावधान छ । दिएको समयावधि व्यक्तिगत विवरण सच्याउनका साथै नामावली शुद्धीकरणका लागिसमेत उपयोग गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १२ : ४७ बजे