७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

बाढीबाट पर्यटनमा ५२ अर्ब ६७ करोडको क्षति



काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार पाँच सय रुपियाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको अनुमान छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी छलफलमा नेपाल पर्यटन बोर्डको द्रुत प्रतिकार्य टोलीका संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले प्रस्तुत गर्नुभएको प्रारम्भिक प्रतिवेदनमा यो आँकडा प्रस्तुत गरिएको हो ।

क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपत्का लागि पूर्वतयारीलाई व्यवस्थित बनाउन पुनरुत्थानको मसौदा तयार गर्ने जिम्मेवारीसमेत सम्बन्धित समितिलाई दिइएको छ ।

प्रतिवेदन अनुसार बाढीपहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका क्षेत्रमा पर्यटन पूर्वाधार, होटेल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठुलो क्षति पुगेको छ ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटेल व्यवसायमा भएको छ । होटेल क्षेत्रमा १९ अर्ब ५६ करोड चार लाख ४८ हजार, वैदेशिक पर्यटन आम्दानीमा १४ अर्ब ६० करोड २४ लाख ६४ हजार तथा मानव बल एवं पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार पाँच सय रुपियाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ एक अर्ब ६६ करोड ४० लाख, सवारीसाधनतर्फ एक अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्टतर्फ एक अर्ब ३८ करोड ५० लाख २० हजार र लामटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ एक अर्ब २७ करोड ६४ लाख ४० हजार रुपियाँ बराबरको क्षति भएको आकलन गरिएको छ ।आन्तरिक पर्यटन राजस्वमा १९ करोड ८७ लाख, र्‍याफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा पाँच करोड रुपियाँ बराबरको प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १ : ५१ बजे