काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
साथै न्यून चापीय क्षेत्र बंगालको खाडीको पश्चिम(मध्य भू-भाग आसपास रहेको र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रूपमा पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू(भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोसी र वाग्मती प्रदेशको पहाडी भू-भागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।





