काठमाडौं । नेपाली कांग्रेसको पालिका अधिवेशनको सरगर्मी देशभर बढिरहेका बेला काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पनि नयाँ नेतृत्व चयनलाई लिएर राजनीतिक गतिविधि तीव्र बनेको छ। नगर नेतृत्वका लागि आकांक्षीहरू प्रतिनिधिसँगको भेटघाट, संवाद तथा सामाजिक सञ्जालमार्फत आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा सक्रिय देखिएका छन्।
नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्यसमितिको १५औँ नगर अधिवेशन आज चेकपोस्टस्थित ग्रिनल्याण्ड ब्याङ्क्वेट्समा हुँदैछ। बिहान ११ बजे सुरु हुने अधिवेशनमा वडा अधिवेशनबाट चयन भएका ३८७ जना प्रतिनिधि सहभागी हुनेछन्। यही प्रतिनिधिको मतबाट नगरको आगामी नेतृत्व चयन हुने भएकाले अधिवेशनलाई चन्द्रागिरि कांग्रेसको आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।
नगर सभापतिका आकांक्षीका रूपमा कृष्णप्रसाद खड्की, राजेन्द्र महर्जन, प्रकाश श्रेष्ठ र राजेन्द्रविक्रम बानियाँ लगायतका नेताहरू सक्रिय छन्। उनीहरूले आ–आफ्नो राजनीतिक अनुभव, संगठनमा गरेको योगदान र आगामी कार्यदिशालाई आधार बनाएर प्रतिनिधिहरूसँग समर्थन मागिरहेका छन्।
नगर सभापतिका आकांक्षीमध्ये कृष्णप्रसाद खड्गी चन्द्रागिरि कांग्रेसको संगठनात्मक गतिविधिमा लामो समयदेखि सक्रिय नेताका रूपमा चिनिन्छन्। उनले वडा नम्बर ४ को नेतृत्व दुई पटक सम्हालिसकेका छन्। हाल उनी चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता समेत हुन्।
नगरको राजनीतिक तथा संगठनात्मक ‘ग्राउण्ड’ बुझेका खड्कीले स्थानीय तहबाट भएका विकास तथा असल अभ्यासलाई प्रचारात्मक रूपमा अघि बढाउन भूमिका खेल्दै आएका छन्। संगठनलाई थप प्रभावकारी बनाउँदै नयाँ पुस्तालाई पार्टीको संरचनामा ल्याउनुपर्ने विषयमा उनले जोड दिँदै आएका छन्।
स्थानीय तहको नेतृत्वसँग नजिक रहेर काम गरेको अनुभवलाई संगठन विस्तारसँग जोड्दै उनले आफ्नो दाबीलाई बलियो बनाउने प्रयास गरिरहेका छन्।
नगर कार्यसमितिका हालका सचिव राजेन्द्र महर्जन पनि सभापतिका आकांक्षीका रूपमा सक्रिय छन्। महर्जनले प्रतिनिधिहरूसँग प्रत्यक्ष सम्पर्क बढाउँदै मोबाइलमार्फत फोन तथा संवाद गरेर मत माग्ने अभियान अघि बढाइरहेका छन्।
अर्का आकांक्षी प्रकाश श्रेष्ठले भने सामाजिक सञ्जाललाई आफ्नो अभियानको महत्वपूर्ण माध्यम बनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिनिधिहरूसँग संवाद गर्दै आफ्नो उम्मेदवारीका पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
त्यस्तै, नगर कांग्रेसका कार्यवाहक सभापति राजेन्द्रविक्रम बानियाँ पनि नेतृत्वको दौडमा छन्। कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेका बानियाँले पनि सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै प्रतिनिधिहरूसँग मत मागिरहेका छन्।
चार आकांक्षीको सक्रियतासँगै चन्द्रागिरि कांग्रेसको नगर अधिवेशनमा नेतृत्व चयन मुख्य चासोको विषय बनेको छ। अधिवेशनले केवल नयाँ सभापति चयन गर्ने नभई आगामी दिनमा नगर कांग्रेसको संगठन विस्तार, पुस्तान्तरण, स्थानीय मुद्दामा पार्टीको भूमिका र जनतासँगको सम्बन्ध कस्तो हुने भन्ने दिशासमेत तय गर्ने देखिन्छ।
वडा तहबाट आएका ३८७ प्रतिनिधिको निर्णयले अब चन्द्रागिरि कांग्रेसको नेतृत्व कसले सम्हाल्ने भन्ने टुंगो लगाउनेछ।
आगामी फागुनमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी निर्वाचन आयोगले अघि बढाइरहेका बेला चन्द्रागिरि कांग्रेसको नगर नेतृत्व चयनलाई थप अर्थपूर्ण रूपमा हेरिएको छ। नयाँ नेतृत्वसामु पार्टी संगठनलाई प्रभावकारी ढंगले अघि बढाउँदै आगामी स्थानीय निर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्ने र संगठनलाई निर्वाचनकेन्द्रित रूपमा परिचालन गर्ने चुनौती समेत रहनेछ।
नेपाली कांग्रेसमा विगतमा नगर सभापतिलाई नै स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखको सम्भावित उम्मेदवारका रूपमा अघि सार्ने अभ्यास रहँदै आएको छ। यही कारण चन्द्रागिरि नगरको नयाँ नेतृत्व चयनलाई पार्टीको आन्तरिक संगठनात्मक विषयसँग मात्र नभई आगामी स्थानीय निर्वाचनको सम्भावित राजनीतिक समीकरणसँग जोडेर समेत हेरिएको छ। कांग्रेसमा नगर सभापतिलाई पालिका प्रमुखको सम्भावित उम्मेदवारका बनाउने बिगतको अभ्यासलाई चिर्दै नयाँ अभ्यास गर्ने गरी तयारी चलिरहेको छ ।
आज हुने नगर अधिवेशनबाट निर्वाचित नेतृत्वका लागि संगठन सुदृढीकरणसँगै प्रतिनिधि, कार्यकर्ता र आम मतदाताबीच पार्टीप्रति विश्वास र समर्थन विस्तार गर्ने चुनौती समेत रहने देखिन्छ।
कांग्रेसले यसअघि ६ हजार बढी वडामा पार्टीको अधिवेशन सम्पन्न गरिसकेको छ ।





